काठमाडौं, २१ वैशाख । पहलगाम (जम्मु-कश्मीर) आतंकवादी हमला (अप्रिल २२) भएयता भारत र पाकिस्तानबीच विवाद बढेको छ। २६ जनाको हत्या गरिएको उक्त आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै भारतले उसविरुद्ध विभिन्न दण्डात्मक निर्णय गरिरहेको छ।
यसैबीच आइतबार पन्जाबको अमृतसर प्रहरीले दुई जना पाकिस्तानी जासुसलाई पक्राउ गरिएको दाबी गरेको छ।
उनीहरूले सैन्य शिविर र वायुसेना अड्डाका जानकारी र तस्बिर विदेश पठाइरहेको आरोप लगाइएको छ।
प्रहरीले दुवै जना पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईका कार्यकर्ता रहेको दाबी गरेको छ।
अर्कातर्फ रुसका लागि पाकिस्तानका राजदूत मोहम्मद खालिद जमालीले भारतलाई आणविक आक्रमणको धम्की दिएका छन्।
शनिबार रुसी मिडियालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन- भारतले पाकिस्तानमा आक्रमण गर्छ भने इस्लामाबादले पूर्ण शक्तिका साथ जवाफ दिनेछ, चाहे त्यो आणविक आक्रमण नै किन नहोस्।