Logo

परराष्ट्रमन्त्री एनपी साउद र इजरायली विदेशमन्त्री कोहनबीच कुराकानी



काठमाडौँ, २३ असोज । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेश मन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

आज दिउँसो भएको कुराकानीमा परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिदिन विदेश मन्त्री कोहेनसँग आग्रह गरेको मन्त्री साउदको सचिवालयले जनाएको छ ।

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपालीको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन र सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि इजरायल सरकारसँग आग्रह गरेका छन् ।

यस्तै उनले इजरायली सेनाले सुरक्षित स्थानमा स्थानान्तरण गरेका नेपाली नागरिकहरुलाई खानापिन लगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि समकक्षी मन्त्री कोहेनसँग आग्रह गरेका हुन् ।

कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दु:खद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्