Logo

परिवर्तन उल्ट्याउने प्रपञ्च भइरहेको छ ः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई असफल बनाउन ठूलै प्रपञ्च भइरहेको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार नेता तथा कार्यकर्तासँगको भेटघाटमा उनले भने, “सरकारमा प्रधानमन्त्री, मन्त्री हामी छौँ । त्यसकारण परिवर्तन उल्टिँदैन होलाजस्तो पनि लाग्न सक्छ तर स्थिति सहज छैन ।”

उनले पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए प्रधानमन्त्री प्रचण्डले सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउन जनताको आशा र भरोसाअनुसार जिम्मेवारीबोध गरेर अघि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले भने, “लेखौँ, बोलौँ र प्रतिक्रियावादीको प्रतिरोध गरौँ। सबैले आफ्नो भूमिका पूरा ग¥यौँ भने पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइमा उठाउन सकिन्छ।”

नेताको मन जितेरभन्दा पनि जनता र कार्यकर्ताको मन जितेर नेता बन्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सोबमोजिम पार्टीलाई अगाडि लैजाने आफ्नो योजना रहेको चर्चा गरे । उनले भने, “त्यसो गरियो भने मात्रै पार्टी बन्छ । नत्र अहिलेको परिस्थितिमा पार्टीलाई बचाउन धेरै गाह्रो हुन्छ । यसलाई सबैले गम्भीर रूपमा लिऔँ ।”

उनले पार्टीका नेता तथा कार्यकर्ताले जिम्मेवारीबोध नगर्ने र त्यसका लागि सङ्घर्ष नगर्ने हो भने धेरै अप्ठ्यारो स्थिति आउन सक्ने सङ्केत गरे । जस्तोसुकै चुनौती भए पनि वर्तमान सरकारलाई सफल बनाएरै छाड्ने आफूले सङ्कल्प लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस योजनामा सहयोग गर्न सबैलाई अपिल गरे । आजको गोरखापत्र दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्