Logo

अपहरणको नाटक गर्ने ६ जना पक्राउ



काठमाडौँ, २६ माघ । परिवारबाट पैसा अशुल्न अपहरणमा परेको नाटक गर्ने छ जनालाई उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरि नगरपालिका–१३ बस्ने ४७ वर्षका विदुर बस्नेत, चितवनको भण्डारा घर भईहाल नैकाप बस्ने दिलीप विक, सर्लाही घर भई बालाजु बस्ने भोला महतो, काभ्रेका जगतबहादुर भोलान र कान्छामाया जिम्बा तथा धादिङका आशमान लामा पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले परिवारबाट पैसा असुल गर्न उनीहरुले नाटक गरेको बताए । पक्राउ परेका सबै एकअर्कामा चिनजान रहेका छन् । उनीहरूमध्ये विदुर बस्नेतले सुरुमा जगतबहादुरसँग पैसा सापटी लिएको तर लामो समयसम्म नतिरेको र सोही कारण बस्नेतको परिवारबाट पैसा असुल गर्न अपहरणको नाटक गरेको फेला परेको राठौरले जानकारी दिए ।

उक्त नाटक तयार पारी उनीहरू काठमाडौँको चन्द्रागिरि–१३ पुरानो नैकापस्थित कङ्काली पिस ब्याम्बो रिसोर्टमा बसेका थिए । त्यहाँबाट बस्नेतको परिवारमा अपहरण परेको र पैसा दिए छुटाइदिने भनेर फोन गयो ।

त्यसपछि परिवार सूचना लिएर प्रहरीमा पुग्यो । अनि महाशाखाको टोली आवश्यक रणनीति बनाएर कलङ्कीमा पैसा दिने सहमति बन्यो । त्यही बेला पैसा लिन आएका जगतबहादुर भोलानलाई नियन्त्रणमा लिइएको थियो ।

उनको बयानका आधारमा उनीहरू नैकापमा रक्सी खाएर बसेको पत्ता लागेपछि अन्य पाँचलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताए । उनीहरूलाई थप अनुसन्धानका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्