भोजपुर, २ असोज । भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको हो ।
भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । सडकको सहज पहुँच भएसँगै पर्यटकको आगमन बढेको स्थानीयवासीको भनाइ छ । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मनै लोभ्याउने गरेको छ । दैनिक दर्जनौँ मानिस झरनामा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ ।
झरनाको अझ प्रचार–प्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत विकासमा टेवा पुग्ने स्थानीयवासी बुद्धप्रसाद राईले बताए । विषेशगरेर गर्मीको समयमा धेरै पर्यटकको जमघट हुने उनको भनाइ छ । शनिबार र अन्य बिदाको समयमा मानिस विभिन्न ठाउँबाट घुम्न आउने गरेको उनले जानकारी दिए ।
“महभिर झरनामा पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ”, उनले भने, “दैनिकजसो दजनौँ मानिस आउने गरेका छन् । यसलाई अझ प्रचार–प्रचारमा ध्यान दिन सक्ने हो भने गाउँपालिकाको राम्रो आर्थिक स्रोत बन्न सक्छ ।”
भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्ने मानिसको सङ्ख्यामा वृद्धि भएको स्थानीयवासी राईको भनाइ छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटरभित्र रहेको छ । यो क्षेत्र भएर यात्रा गर्ने मानिस प्रायः झरनाको अवलोकन गर्न जाने गरेका छन् ।
गाउँपालिकाको वडा नं ४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ । विगतका वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झर्ना रहेको स्थानीयले बताउने गरेका छन् । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ । खास गरेर यहाँ गर्मीको समयमा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् ।
गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झरना वरिपरि पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए । यो झरना गाउँपालिकाको पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको उनको भनाइ छ ।
“महभिर झरना पर्यटकको रोजाइको पर्ने पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ”, प्र्रशासकीय अधिकृत न्यौपानेले भने, “दैनिक दर्जनौँ मानिस पुग्ने गरेका छन् । हामीले यसको विकास तथा संरक्षणमा ध्यान दिएका छौँ । यसको थप विकास तथा विस्तारमा भावी दिनमा काम गर्ने योजना छ ।”
महभिर झरनालाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने उद्देश्यका साथ विकासको काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । झरनासम्म पुग्ने सडकलाई कोशी प्रदेशसँगको सहकार्यमा व्यवस्थित गर्ने काम भइरहेको उपाध्यक्ष राईले बताइन् । टेम्केमैयुङ प्राकृतिक स्रोत तथा पर्यटकीय क्षेत्रको धेरै सम्भवना भएको गाउँपालिका रहेकाले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउने उपाध्यक्ष राईले जानकारी दिइन् ।
“टेम्केमैयुङ गाउँपालिका पर्यटन र कृषिमा धेरै राम्रो सम्भावना बोकेको गाउँपालिका हो”, उपाध्यक्ष राईले भनिन्, “यहाँ धेरै पर्यटकीय क्षेत्र छन् । पर्यटनको सँगै यहाँको कृषिलाई जोडेर विकासमा जुटेका छौँ । महभिर झरना एक स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । यसलाई अझ व्यवस्थित बनाउने योजनाका साथ काम गरिरहेका छौँ ।” मुख्यरूपमा गाउँपालिकाको कृषि र पर्यटनको विकासमा योजनाबद्धरूपमा काम भइरहेको उनको भनाइ छ ।
यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम गर्ने गाउँपालिकाले जनाएको छ । यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आगमनका लागि काम गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । पर्यटनलाई गाउँपालिकाको आर्थिक पक्षसँग जोड्ने लक्ष्य रहेको गाउँपालिकाको भनाइ छ ।