धनकुटा, १६ पुस । कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्देश्यकासाथ आजदेखि धनकुटाको भेडेटारमा तीन दिने फूड फेस्टिवल सुरु भएको छ ।
अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फूड फेस्टिवलमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको हो ।
सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएशन अफ भेडेटारले आयोजना गरेको फेस्टिवलमा १ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।
औपचारिक कार्यक्रमकाबीच आज उद्घाटन गरिएको फूड फेस्टिवललाई कोरोनाले थलिएको व्यापार व्यवसायको विकास र प्रवर्द्धनका रुपमा समेत लिइएको छ । होटल एशोसिएशन अफ भेडेटारकी अध्यक्ष शान्तिमादेन श्रेष्ठले आगामी दिनमा सबैको साथ र सहयोग गरेको खण्डमा यही वर्षमा पर्यटन व्यवसाय फस्टाउने बताए ।
पूर्वको पर्यटकीय गन्तव्यका रुपमा रहेको भेडेटारमा आयोजित फूड फेस्टिवल विशेष गरी भारतीय पर्यटक लक्षित गरी आयोजना गरिएको छ । फेस्टिवलले भेडेटारलाई आन्तरिक तथा बाह्य पर्यटक माझ घुम्नैपर्ने गन्तव्यका रुपमा चित्रित गर्न थप मद्यत पुर्याउने विश्वास लिइएको छ ।
फेस्टिवलमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय तथा जाति विशेष खानेकुराका परिकार प्रदर्शनीसँगै भेडेटार हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने सांगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए






