काठमाडौँ, ३ भाद्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताएका छन् ।
पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको बताएका हुन् ।
“लामो समय अगाडि बनेको पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको समस्या समाधान गर्न सक्दैन, पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको छ”, उनले भने । पर्यटनमन्त्री किरातीले स्रोतसाधनको अभावकाबीच पनि पर्यटक प्रहरीले उत्कृष्ट रुपमा कार्यसम्पादन गरेको बताए । पर्यटन क्षेत्रले मात्र देशको विकास र आर्थिक उन्नती हुने उनको भनाइ थियो ।
उनले अथाह पर्यटकीय सम्भावना भएको मुलुक नेपालको पर्यटनलाई विश्व बजारमा लैजानका लागि पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताए । उच्च निष्ठावान भएर मन, बचन र कर्मले काम गर्न उनले पर्यटक प्रहरीलाई निर्देशनसमेत दिए ।







