Logo

पर्यटन कार्यालय काँकरभिट्टाको वक्तृत्वकलामा सरस्वतीका चिरञ्जीवी प्रथम



मेचीनगर, १० असोज । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगरस्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर पर्यटन कार्यालयले “नेपालमा पर्यटनको सम्भावना र चुनौति” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।

पर्यटन कार्यालय परिसरमा आयोजित प्रतियोगितामा मेचीनगरका १७ वटा निजी तथा सामुदायिक विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा सहभागि विद्यालयलाई पछि पार्दै मेचीनगर-१२ सहरेडाँगीस्थित श्री सरस्वती बाल कल्याण माध्यमिक विद्यालयका चिरञ्जीवी कोइराला प्रथम भएका हुन् ।

त्यस्तै दोस्रो पुरस्कार बाल सुबोधनीका रमेश नेपालले प्राप्त गरे भने ईष्ट होराइजन माविकी रेजिना वन तेस्रो भएकी थिइन् ।

त्यसैगरी प्रतियोगितामा सान्त्वना पुरस्कार आदर्श मावि इटाभट्टाका विकास गौतमले प्राप्त गरे । उनीहरुलाई क्रमश ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगदसहित प्रशंसा पत्रद्वारा पुरस्कृत गरिएको थियो ।

पर्यटन कार्यालय काँकरभिट्टका कार्यालय प्रमुख प्रभात भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर-४ का वडाध्यक्ष एवम् पर्यटन अभियान्ता अर्जुन कार्की रहेका थिए ।

उक्त प्रतियोगितमा शिक्षक हेम खड्का संयोजक रहेको तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो । जसको सदस्यमा पत्रकार मायामितु न्यौपाने र पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकृत रेवती ढुंगाना रहेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि कार्की, पर्यटन प्रहरी काँकरभिट्टका प्रमुख धिरज अधिकारी लगायतले आ-आफना धारणा राखेका थिए ।

पर्यटन कार्यालयका सूचना अधिकारी निरज कट्टेल मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन पर्यटन वन तथा वातावरण मन्त्रालयका अधिकृत हेमराज अर्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्