कास्की, १० असोज । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ ।
शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई भव्य स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिनुभयो । पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो संग्रहालय बिहान ८ः३० देखि साँझ ५ः३० बजेसम्म खुल्ला हुन्छ ।
पर्यटन दिवसकै सन्दर्भमा संग्रहालयले शनिबार ऐतिहासिक फोटो प्रदर्शनी र पुस्तकसमेत सार्वजनिक गर्दै छ । रसियाली लेखक एवम् पर्वतारोही युरी रोदिचेभले सङ्कलन गरेका ४० फोटाहरु शनिबार प्रदर्शनीमा राखिने छन् । नेपालको हिमाल र हिमाली क्षेत्रमा उहाँले खिचेका ती तस्बिरहरु अहिलेसम्म सार्वजनिक भएका छैनन् ।
‘‘प्रदर्शनीपछि ती फोटा स्थायी रुपमा संग्रहालयमै रहने छन् भने रोदिचेभको पुस्तक ‘दी हिमालयज’समेत सोही समारोहमा सार्वजनिक गरिनेछ । गत वर्ष यो संग्रहालय एक लाख ९८ हजार जनाले अवलोकन गरेका छन् । संग्रहालयको रेकर्डअनुसार यहाँ एक सय पाँच देशका नागरिकले भ्रमण गरेका छन्,’’ संग्रहालयका कार्यकारी निर्देशक न्यौपानेले भन्नुभयो ।
संयुक्त राष्ट्रसङ्घले यसपालिको विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति तय गरेको छ । पर्यटनको माध्यमबाट शान्ति र समृद्धिमा योगदान पुग्ने पक्षलाई ध्यान दिई यो नारा बनाइएको हो ।