काठमाडौँ, १४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)को ४५औँ साधारणसभामा मन्त्री किराँतीले बाह्रै महिना नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेमात्र नेपालको पर्यटन क्षेत्रले विकासको गति लिने बताएका हुन् ।
“जेठदेखि भदौसम्मलाई हामी अफसिजन भन्दै आएका छौँ, अफसिजनमा पनि पर्यटक ल्याउन सक्ननुपर्छ”, उनले भने । उनले मुलुकको राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटनले जुन गति लिनुपर्ने हो त्यो लिन नसकेको धारणा राखेका थिए ।
“नेपालले छिमेकी मुलुक भारत र चीनबाट बाहिरिने पर्यटकको कूल सङ्ख्याबाट शून्य दशमलव पाँच प्रतिशत मात्रै पर्यटक भित्र्याउन सक्ने हो भने नेपाल पर्यटनको हव बन्नेछ”, उनले भने । पर्यटनमन्त्री किरातीले संसारको अग्लो हिमाल सगरमाथादेखि विभिन्न हिमशृङ्खला र पहाड पर्यटकका लागि पदयात्राको माध्यम बन्ने भन्दै यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।
उनले नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर्न सकेमात्र पनि यहाँको पर्यटन विकासमा सहयोग पुग्ने बताए ।