झापा, २० फागुन । पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले पर्या-पर्यटन विकासको नाउँमा सामुदायिक वनले पक्की संरचना बनाए त्यस्ता वन समुहलाई कार्वाही गर्ने बताएका छ्न् ।
पुर्वको फेवातालको रुपमा बिकास तीब्र बनाइएको झापाको मेचीनगर-१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समुहअन्तरगत निचाझोडा सिमसार पर्या-पर्यटन क्षेत्रको अवलोकन गर्ने क्रममा आइतबार मन्त्री उप्रेतीले उक्त कुरा बताएका हुन् ।
भौतिक संरचना सिमेन्टेड हुँदा वनभित्र बन्यजन्तु र चराचुरुङ्गीलाई अनुकूल नहुने, स्वच्छ वातावरण र वनभित्रको प्राकृतिक सुन्दरता ओझेलमा परेकाले वन परिषरभित्र सिमेन्टेड संरचना निर्माण गर्न निरुत्साहित गरेको मन्त्री उप्रेतीको भनाई थियो ।
सबै जिल्लाका वन कार्यालयलाई सचेत गराइसकेको समेत मन्त्री उप्रेतीले बताए । उनले आफ्नो मातहतका बन समितिलाई निर्देशन पालना नगरेको प्रमाणका आधारमा ति वन समितिलाई कार्वाही गरिने जानकारी दिए ।
वन परिषरभित्र निर्माण गरिसकेका पक्की संरचनाका बारेमा पछि सोचौँला मन्त्री उप्रेतीले भने, तर नयाँ पक्की संरचना चै बनाइनु हुँदैन, बनाउन दिइनेछैन । वनमा आफ्नै काठ छ । काठबाट निर्माण गरिएका संरचना प्राकृति, पर्यावरणसहित वन्यजन्तुको जगेर्ना हुने प्रस्ट्याउँदै मन्त्री उप्रेतीले भने, ‘पक्की संरचना पनभित्र त्यसै असुहाउँदो, पर्यावरणीय दृस्ठिकोणले पनि प्राकृतिकमैत्री हुँदैन । त्यसैले कोशी प्रदेश सरकारले बनभित्र पक्की संरचना निर्माणमा निरुत्साहित गर्न लागेको हो ।’
अवलोकनका क्रममा हातेमालो सामुदायिक बन उपभोक्ता समुहअन्तरगतको निचाझोडा सिमसार पर्या-पर्यटन क्षेत्रको विकासका लागि समुहले मन्त्री उप्रेतीलाई २ करोड रकमको बजेट माग पत्र हस्तान्तरण गरेको थियो ।
वन समितिका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले मन्त्री उप्रेतीलाई उक्त बजेट मागपत्र हस्तान्तरण गरेका हुन् । सो क्रममा विकासको पर्खाइमा रहेको सम्भावना बोकेको पर्या-पर्यावरण क्षेत्र रहेकाले तत्काल १ करोड बजेट दिन सकिने आश्वासन दिएका थिए ।






