काठमाण्डौ, १४ फागुन । पशुपति क्षेत्रबाट विभिन्न आपराधिक कार्यमा संलग्न ७५ जनालाई प्रहरीले पक्राउ गरेको छ। शिवरात्री मेलाको अवसरमा पशुपति क्षेत्रको भिडमा आपराधिक कार्यमा संलग्न विभिन्न ७५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।
पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी बृत्त गौशाला र जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहोराले बताउनुभयो।
केहीलाई गाँजा खाएर हल्ला गरेको आरोपमा र केहीलाई भक्तजनको सिक्रीसहितका सामान लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूको विगतको आपराधिक रेकर्ड हेरेर मात्रै छाड्ने या थप कारबाही अघि बढाउने निर्णय लिने बोहराको भनाइ छ।






