Logo

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं, १३ फागुन । देशका विभिन्न स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराईका केही स्थानमा हुस्सु लागेको छ। दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका हिमाली क्षेत्रमा पनि बादल लाग्नेछ। अन्य पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ।

तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।

रातिको समयमा तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्र र अन्य प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

मौसम प्रतिकूल हुन सक्ने भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्