काठमाडौं, २० पुष । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको प्रभाव देखिएको जनाएको छ। हाल पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको विभागले जनाएको छ।
दिउँसोको समयमा पनि तराई भूभागका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहने अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रसँगै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने उल्लेख गरिएको छ।
यस्तै, कोशी, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति पनि तराईका धेरै स्थानमा हुस्सु रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने र अन्य भूभागमा मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ। हिमाली क्षेत्रमा हिमपात तथा तराई क्षेत्रमा घना हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन र सडक यातायातमा आंशिक असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज सूर्योदय बिहान ६:५५ बजे भएको र सूर्यास्त साँझ ५:२२ बजे हुने विभागले जनाएको छ।







