काठमाण्डौ, १३ फागुन । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा दुई समुदायबीच भएको झडपले उग्ररुप लिएको छ।
झडपमा स्थानीयले प्रहरीको गाडी जलाइदिएका छन्। आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको बा १ झ ७४४८ नम्बरको गाडीमा आगजनी गरेका हुन्। आगजनीबाट एक कवार्ड गोदाममा समेत क्षति पुगेको छ।
झडपमा २० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।
दुई समुदायका युवा युवतिबीच प्रेम विवाह भएको विषयले विवादको रुप लिँदा झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ।
सोमबार साँझ बिबाहित धोवी थर भएका युवकका भाइ काम विशेषले बेलासपुर आउँदा सोवराती पवरियासहितको समूहले कुटपिट गर्दा झडपको अवस्था सिर्जना भएको हो।
मंगलबार बिहान कुटपिटको कारण सोध्दै केटा पक्षको युवतीका माइती पक्षको घरमा पुग्दा दुई समूहबीच झडप सुरु भएको प्रहरीद्ये जनाएको छ।
दुई समूहबीच झडप हुँदा केटा पक्षको समूहमाथि अन्धाधुन्दा ढुंगा प्रहार गरेपछि गाडी दौडाउँदा दुई जना घाइते भएको र घाइते केटा पक्षका विजय धवलको अवस्था चिन्ताजनक रहेको प्रहरीको छ।
केटापक्षकै ४५ वर्षीय बैजनाथ प्रसाद लोनिया पनि घाइते भएका छन्। उनीहरू भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको छ।
स्थिति नियन्त्रण लिन प्रहरीले ५ राउण्ड अश्रु ग्याँस र ३ राउण्ड हवाई फायर गरेको थियो। घाइते हुनेमा ११ जना नेपाल प्रहरी र चार जना सशस्त्र प्रहरी छन्। उनीहरूको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ। यस्तै पाँच जना स्थानीय घाइते भएका छन्।