काठमाडौँ, ७ असार । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटन स्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताएका छन् ।
बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य गौतमले नेपालमा रहेका १० हजारभन्दा बढी पहाडी टाकुरालाई पर्यटन स्थलको रूपमा विकास गर्नुपर्ने बताएका हुन् । उनले नेपाललाई भूगर्भ र सतहअनुसार विकास गर्न नसक्दा दिगो विकास हुन नसकेको बताए ।
उनले भने, ‘हरेक पहाडको टाकुरामा एउटा पर्यटन स्थल बनाउनुपर्छ । त्यस्ता टाकुरा १० हजारभन्दा धेरै छन् । त्यहाँ पर्यटन स्थल बनाइदियो भने पर्यटन कहाँ राखौँ भन्ने अवस्था आउँछ तर हामीले त्यो गर्न सकेनौँ ।’
गौतमले नेपालको जमिन हल्लिरहेको भन्दै कुनै पनि बेला विपद्जन्य घटनाहरू हुनसक्नेप्रति सरकारको ध्यानाकर्षण गराए । उनले नेपालको नेतृत्वमा भौगोलिकताअनुसार विकास गर्ने सोच नभएको बताएका हुन् ।





