Logo

पहिचानका आधारमा प्रदेशहरुको पुन: नामाकरण हुनुपर्छ: अध्यक्ष यादव



काठमाडौँ, १२ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरुको पुन: नामाकरण हुनु पर्ने माग गरेका छन् ।

देशव्यापी जनताको मागलाई बेवास्ता गरी सरकारले पहाड नदी खोला नालाको नाममा प्रदेशको नामाकरण गरेकोमा उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

शनिबार ललितपुरको महालक्ष्मीस्थानमा समाजवादी तामाङ संघले आयोजना गरेको नयाँ वर्ष सोनम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै पहिचानका आधारमा प्रदेशलाई नामाकरण गर्न सरकारले ढिलाई गर्न नहुने बताए ।

“जनताको माग एकातिर छ, तत्कालीन सरकारले खोलानालाको नाममा प्रदेशको नामाकरण गर्यो, त्यो हामीलाई मान्य छैन’’, जसपा अध्यक्ष यादवले भने, ‘‘नामाकरणको बिषयमा मधेश प्रदेश बाहेक सबै प्रदेशमा चरम असन्तुष्टि छ, सरकारले यसलाई समय छँदै सम्बोधन गर्नुपर्छ ।’’

पहिचानका लागि पूर्वी नेपालमा जारी आन्दोलनलाई जनताको माग अनुसार सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले मधेश बाहेक बाँकी ६ वटै प्रदेशमा पहिचान आधारित पुन: नामाकरणको आन्दोलनले विस्फोटक रुप लिन सक्ने दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्