मकवानपुर,२७ साउन । मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।
जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो ।
मकवानपुरको भिमफेदी गाउँपालिका-२ भैँसेमा सुक्खा पहिरासँगै खसेको ढुङ्गाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिए ।
नेपालीसँग प्रहरी जवान सुनिल मेचे पनि घाइते भएकामा उनको भने अवस्था सामान्य रहेको कार्कीले बताए । मृतक नेपाली जाजरकोटको शिवालय नगरपालिका-८ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।







