काठमाडौँ, १५ असार । देशका विभिन्न ठाउँमा अहिले पनि ठूलो पानी परिरहेको छ ।
यसैबीच निरन्तरको वर्षाका कारण राष्ट्रिय राजमार्ग अन्तर्गतका विभिन्न चार ठाउँमा सडक बन्द भएका छन् । कोशी राजमार्ग अन्तर्गत विराटनगरबाट धनकुटा हुँदै किमाथाङ्का जाने सडक अन्तर्गत सङ्खुवासभाको सम्मटार र वरुण खोलामा सडक बन्द भएको छ ।
यस्तै डुम्रे बेसीसहर चामे सडक अन्तर्गत लमजुङको उदीपुर र मनाङको मार्दीभीरमा पहिरोले सडक बन्द भएको छ । पहिरोले राष्ट्रिय राजमार्ग अन्तर्गतका सडकको ४५ ठाउँमा अवरोध भएकोमा चार ठाउँको सडक एकतर्फी खुलाएको र ३७ ठाउँको सडक पूर्णरूपमा खुलाएको सडक विभागले जनाएको छ । मुख्य राजमार्गबाहेक पनि विभिन्न १२ वटा जिल्लामा सडक बन्द भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैबीच नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षासँगै तीमध्ये सात ठाउँमा साना-ठूला पहिरो खसिसकेका डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताए ।
गए रातिदेखि झरी सुरु भएकोमा सबैजसो ठाउँमा अहिले हल्का झरी परिरहेको र केही ठाउँमा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।