चितवन, १७ साउन । ठाउँ-ठाउँमा गएको पहिरोका कारण काठमाडौँसँग जोडिएको मुख्य राजमार्ग मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ ।
गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ को केराबारीमा ठूलो पहिरो गएको छ ।
यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ । यस्तै, इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ । यस्तै, नौबिसे-मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ ।
पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीले बताए । यो सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । लामो दूरीमा चल्ने गाडी तथा मालवाहक ट्रकसहित साना गाडीहरुसमेत रोकिएका छन् ।






