दोलखा, २९ साउन । अविरल वर्षाका कारण आइतबार दिउँसो आएको भेलले बगाउँदा दोलखाको विगु गाउँपालिका-७ राखामका बाबुछोरा बेपत्ता भएकामा छोरा पासाङ शेर्पाको शव भेटिएको छ ।
आइतबार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका ३५ वर्षीय बाबु निमदोर्जे शेर्पा र उनका छोरा १२ वर्षीय पासाङलाई वर्षासँगै आएको पहिरोको भेलले बगाउँदा बेपत्ता भएका थिए । निमदोर्जे अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजेस सिग्देलले बताए ।
आइतबार १२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरोलाई अम्बाटोल मुलखोलाले बगाए पछि उनीहरू बेपत्ता भएका थिए । उनका अनुसार बाबु शेर्पा नभेटिए पनि छोरा पासाङ भने हिजो साँझ नै भेटिएका थिए ।
सो घटनापछि प्रहरी घटनास्थल पुगेर खोजी सुरु गरेको थियो । अविरल वर्षा जारी रहेकाले खोजीकार्यमा कठिन भएको प्रहरीको भनाइ थियो ।







