बागलुङ, ३२ साउन । भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् ।
लोकमार्गको बुर्तिबाङ-पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका-४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो ।
बुधबार साँझदेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको छ । वर्षा रोकिएपछि सडक खुलाउन थाल्ने प्रहरी नायव उपरीक्षक केसी बताउछन् ।
लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोटलगायतका स्थानबाट बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँलगायतका स्थानमा पुग्ने यातायातका साधन सडकमै ठप्प छन् ।
यात्रु बाटोमै अलपत्र परेका छन् । काठमाडौँदेखि पूर्वी रुकुम र निसीखोलाको विभिन्न स्थानमा यातायातका साधन सडकमै रोकिएका स्थानीय नरबहादुर क्षेत्रीले जानकारी दिए ।







