Logo

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता



चितवन, २८ असार । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ ।

घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उहाँले भन्नुभयो, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उहाँले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभयो ।

ढुङ्गा खसी बसमा बस चालकको मृत्यु 

यसैगरी, असार २८ गते बिहान ३ बजे चितवन जिल्ला  भरतपुर महानगरपालिका–२९ सत्रकिलो स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाण्डौँतर्फ जाँदै गरेको लु २ ख ६५६६ नं.को बसलाई अचानक माथिबाट लेदो सहितको पहिरो सहित ढुङ्गा खसी बसमा लाग्दा बस चालक जिल्ला नवलपरासी  सुनवल नगरपालिका–४ बस्ने बर्ष ३६ को मेगनाथ बिक गम्भीर घाइते भई उपचारका लागि भरतपुरतर्फ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

बस घटना स्थलमै  रहेको बसमा सवार यात्रुहरुलाई   केही नभएको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।  बाटो एकतर्फ अवरोध भएको उक्त स्थानमा  सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट २०  जनाको टोली र नेपाल प्रहरी परिचालन भएको छ ।  बाटो खुलाउन सडक डिभिजन संग समन्वय भइरहेको जानकारी डिएसपी शैलेन्द्र थापाले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्