Logo

पहिरोले मेची र अरनिको राजमार्ग ठप्प, बीपी राजमार्गमा राति यातायात बन्द



काठमाडौं, २४ साउन । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरी तथा स्थानीय प्रशासनको साउन २५ गते बिहान ६ बजेसम्मको विवरणअनुसार कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छन् ।

कोशी प्रदेशमा मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक प्रभावित भएको छ । वैकल्पिक मार्ग प्रयोग गरी यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा पहिरो खसेपछि झापादेखि ताप्लेजुङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यहाँबाट चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग हुँदै पठाइएको छ ।

बागमती प्रदेशमा पनि सडक अवरोधको अवस्था गम्भीर रहेको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली (नाकैं) मा पहिरो गएपछि सडक पूर्ण रूपमा बन्द भएको छ ।

यस्तै, बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर मात्रै सवारी सञ्चालन गर्न दिइएको छ ।

कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका चारकिलो, कोदारी, लिपिङ तथा चौतारा साँगाचोकगढी नगरपालिकाको डुग्रेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन आवश्यक प्रयास भइरहेको प्रहरीले जनाएको छ । लगातार वर्षा भइरहेकाले थप सडकखण्डमा समेत अवरोध आउन सक्ने भन्दै यात्रु तथा चालकलाई यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझ्न र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्