काठमाडौँ, १९ असार । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका-७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ ।
शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ-७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए ।
पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिजो बिहान फेला परेको थियो । रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र उनकी भतिजी १९ वर्षीया एलिसा मगरको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
शुक्रबार राति १२:३० बजेबाट स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले बेपत्ताको खोजी थालेका थिए । स्काभेटरको सहायताले पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको शव निकालिएको हो ।
रुपलालका तीन सन्तानमध्ये जेठी छोरीको विवाह भइसकेको र छोरा र कान्छी छोरी अध्ययनका क्रममा झापा थिए । पहिरो गएका समय रुपलालकै घरमा रहेका उनका काका दलप्रसाद मगर भने उच्छिटिएर बाँच्न सफल भएका थिए ।