झापा, २७ फागुन । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ ।
काँकरभिट्टा खेल मैदानमा आज ए डिभिजन क्लब मछिन्द्र एफसी काठमाडौं र विभागीय टिम शसस्त्र प्रहरीको एपीएफ एफसी काठमाडौं बिच खेल हुनेछ ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करणमा यी दुई टिम बिच रोमाञ्चक भिड्न्त हुने आयोजकले जनाएको छ ।
आजको खेल जित्दै दुवै टिमले अन्तिम चारमा प्रवेशिका लागि चर्च ब्वाइज युनाइटेड संगको भेट पक्का गर्ने दाउमा हुनेछन् ।
यसअघि सोमबार भएको खेलमा उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीलाई पराजित गर्दै धरान एफसी सेमिफाइनलमा प्रवेश गरिसकेको छ । धरानले पहिलो सेमिफाइनलमा आयोजकसंग खेल्ने छ ।
चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् ।
उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।
झापा जिल्ला फुटबल संघ र मेचीनगर नगर खेलकुद विकास समितिकाे प्राविधिक सहयोग रहेको प्रतियोगिताको संरक्षकमा मेचीनगर नगरपालिका संरक्षक तथा मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको छ ।