चितवन, २२ साउन । चितवनमा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी टीकाराम वाग्लेका अनुसार यस्ता नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको प्रक्रिया गर्ने गरेका छन् । यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी छन् ।
उनका अनुसार यस जिल्लाबाट सोही समयमा छ जनाको नागरिकता रद्द गरिएको छ । नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गर्ने गरिन्छ । वाग्लेका अनुसार झुट्टा विवरण पेश गरी दुईवटा नागरिकता लिएको, अन्य जिल्लाबाट समेत नागरिकता लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गरिने गरिन्छ । सोही क्रममा जिल्लाबाट छ जनाको नागरिकता रद्द गरिएको हो ।






