काठमाडौँ, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपालले आज आयोजना गरेको विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा वरिष्ठ पत्रकारसँगको अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनले मुलुकमा लोकतन्त्र, संविधान र जनताको हितमा कार्य गर्न प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनसम्म तालमेल गर्ने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवा, आफू र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आजै छलफल भएको जानकारी दिए । उनले गठबन्धनलाई कसरी जोगाएर अगाडि बढ्ने, ६ महिनाभित्र चुनाव सम्पन्न गर्ने, सिट बाँडफाँडलगायत समसामयिक विषयमा छलफल भएको बताए ।
विद्यमान निर्वाचन प्रणालीमा एउटै पार्टीले बहुमत ल्याउन कठिन रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरीको समीक्षा गर्दै उनले छिट्टै सिट सङ्ख्या बाँडफाँड गरी आगामी निर्वाचनमा सहकार्य गरी अगाडि बढ्ने नेताहरुबीच समझदारी भएको प्रष्ट पारेका छन् ।







