Logo

पाँच महिनामै भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स



काठमाडौं, २५ पुष । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपाल भित्रिने रेमिट्यान्समा उल्लेखनीय उछाल देखिएको छ । यस अवधिमा रेमिट्यान्स आप्रवाह ३५ प्रतिशतभन्दा बढीले बढ्दै ८ खर्ब ७० अर्ब रुपैयाँ नाघेको हो ।

नेपाल राष्ट्र बैंकका तथ्याङ्क अनुसार अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स वृद्धिदर पाँच प्रतिशतभन्दा कम थियो । यसपटक भने वैदेशिक रोजगारीबाट आउने आम्दानीले अर्थतन्त्रलाई उल्लेखनीय राहत दिएको देखिन्छ ।

मंसिर महिनामा मात्र करिब १ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ठूलो वृद्धि हो ।

डलरमा हेर्दा पनि विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । चालू आवको पाँच महिनामा डलरमा रेमिट्यान्स करिब ६ अर्ब नाघेको छ । जसले वैदेशिक मुद्राको सञ्चिति बलियो बनाएको राष्ट्र बैंकले जनाएको छ ।

यसै अवधिमा खुद ट्रान्सफर आम्दानी पनि उल्लेखनीय रूपमा बढ्दै ९ खर्ब ५० अर्ब रुपैयाँभन्दा माथि पुगेको हो ।

रेमिट्यान्स वृद्धिसँगै वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने अघिल्लो वर्षको तुलनामा केही घटेको देखिए पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्