बाँके, ३ फागुन । बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नेपालगञ्ज उपमहानगर-२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।
बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका-३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका-५ का ३० वर्षीय मोहन राना छन् ।
उनीहरुको साथबाट प्रहरीले एक हजारका नक्कली नोट पाँच सय ६९ थान बरामद गरेको छ । रानाका साथबाट चार सय १८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाइको साथबाट एक सय ५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट बरामद गरिएको छ ।
नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनै जनालाई मङ्गलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।






