काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्षलाई राष्ट्र निर्माणको निर्णायक अवधि बनाउने बताएका छन्। बौद्धिक पेशाकर्मी अभियान परिषदले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतमा प्राप्त अवसरको पूर्ण उपयोग हुन नसकेको स्वीकार गरे।
थापाले अबको कार्यकाल परिणाममुखी हुने दाबी गर्दै देशलाई अस्थिरता र कुनै पनि प्रकारको दुर्घटनाबाट जोगाउँदै समावेशी ढंगले अघि बढ्ने स्पष्ट पारे। उनले पार्टीको प्रतिज्ञापत्रमै पाँच वर्षभित्र ठोस उपलब्धि दिने योजनाहरु समेटिएको जानकारी दिए।
इतिहासका विभिन्न चरणबाट पाठ सिक्दै अहिलेको पुस्ताले अपेक्षा गरेको समृद्ध र स्थिर देश निर्माण गर्ने जिम्मेवारी कांग्रेसले लिन चाहेको उनको भनाइ थियो। उनले सुधारको स्पष्ट मार्गचित्रसहित चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै सुधारको ग्यारेन्टी कांग्रेसले मात्र दिन सक्ने दाबी गरे।
सभापति थापाले देशको विकास र लोकतन्त्रको सुदृढीकरणका लागि सबै राजनीतिक शक्तिहरुलाई साथमा लिएर अघि बढ्न आवश्यक रहेको बताए। लोकतन्त्रलाई कमजोर पार्ने प्रवृत्तिबाट जोगाउँदै प्रभावकारी काम र नतिजा दिने क्षमतासहित कांग्रेस रूपान्तरण भएको उनको भनाइ छ।







