काठमाडौँ, ३ माघ । नवनियुक्त उपप्रधान एवम् ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् ।
उपप्रधानमन्त्री पदको शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरबारमा पुगेर आफ्नो कार्यकक्षमा मंगलवार दिउँसो पदभार ग्रहण गरेका हुन् ।
त्यस क्रममा उनले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको आवश्यकता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्यदल बनाउने पहिलो निर्णय पनि गरे । विगतका कामको अनुभवको अध्ययन गर्दै देशको आवश्यकता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न कार्यदल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनले बताएका छन् ।
उनले भने, ‘हामीले यो मन्त्रालयअन्तर्गत हुने कामहरूको बारेमा योजनाबद्ध ढङ्गले कामलाई अगाडि बढाउनका लागि विगतमा भएका कामहरूको अनुभवसमेतलाई ध्यानमा राखेर ती सबैलाई अध्ययन गर्दै आउँदो पाँच वर्षमा रणनीतिक योजना बनाउनका लागि एउटा कार्यदल बनाउने निर्णय गरेका छौँ । तीन सदस्यीय कार्यदल बनाएका छौं । मन्त्रालय कुनै पनि राम्रोरनराम्रो भन्ने हुँदैन । सबै मन्त्रालयको आ–आफ्नो ठाउँमा महत्त्व छ । त्यो महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनुलाई मैले एउटा महत्त्वपूर्ण अवसरको रूपमा लिएको छु ।’







