Logo

पाइपलाइनमै अड्कियो ७७ कम्पनीको करिब ४५ अर्बको आईपीओ

३ दर्जनभन्दा बढी जलविद्युत कम्पनी मात्रै



काठमाडौं, ७ मंसिर । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा ७७ कम्पनीको आईपीओ रोकिएको छ ।

पछिल्लो समय निष्कासनको पाइपलाइनमा रहेका कम्पनीको संख्या ७७ पुगेको छ । यी मध्ये ३ दर्जन भन्दा धेरै जलवि्युत कम्पनी रहेका छन् ।

बोर्ड अध्यक्ष रमेशकुमार हमालको पदावधि सकिएर बाहिरिएसँगै अहिले नयाँ अध्यक्ष नियुक्त हुन सकेका छैनन् । उनी गएपछि रोकिएको आईपीओ कहिले निष्कासन हुन्छ भन्ने अझै एकिन भएको छैन । नयाँ अध्यक्ष नियुक्त हुँदासम्म बोर्डमा १०० भन्दा धेरै कम्पनीको आवेद होल्ड हुने अवस्था आउन सक्ने बोर्डका एक कर्मचारीले बताए ।

पाइपलाइनमा सबैभन्दा धेरै हाइड्रोपावर सेक्टरका कम्पनी छन् । यो सेक्टरका मात्रै ३७ कम्पनीले आईपीओ निष्कासनका लागि स्वीकृति मागेका छन् । त्यस्तै होटल तथा पर्यटन सेक्टरका ५ कम्पनी, लगानी सेक्टरका २, उत्पादन तथा प्रशोधन सेक्टरका १३, माइक्रोफाइनान्स १, माइक्रोइन्स्योरेन्स ४ र अन्य सेक्टरका १५ कम्पनीले आईपीओ निष्कासनको लागि स्वीकृति माग गर्दै बोर्८मा निवेदन दिएका छन् ।

कुल ४४ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि स्वीकृति माग गरिएको छ । सो मूल्यको कुल ३१ करोड ७८ लाख ९३ हजार कित्ता सेयर निष्कासन हुने छ ।

यीमध्ये अधिकांश कम्पनीले अंकित मूल्य १०० रुपैयाँमै आईपीओ निष्कासनको प्रस्ताव गरेका छन् । तर केहीले ५० र केहीले अंकित मूल्य १०० मा थप प्रिमियममसमेत राखेर सेयर निष्कासनका लागि प्रस्ताव गरेका छन् ।

अकामा होटलले प्रतिकित्ता ५०, जगदम्बा स्टिलले ३००, सौर्य सिमेन्टले २६४ रुपैयाँ ५१ पैसा, रिद्धिसिद्धि सिमेन्टले २१४ रुपैयाँ १० पैसा, ह्याम्स हस्पिटलले २८८ रुपैयाँ, नेपाल ब्रोडकास्टिङ च्यानलले ५० रुपैयाँ, कैलाश हेलिकप्टरले ३२७ रुपैयाँ, शिवम् होल्डिङ्सले २१० रुपैयाँ तथा छायादेशी कम्प्लेक्सले ४०० रुपैयाँमा आईपीओ निष्कासनको प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्