Logo

पाउ पाथीभरामा भागवत् पुराणको तयारी तीव्र



झापा, ५ चैत । झापाको मेचीनगर-१३ चारआली स्थित पाउ पाथीभरा धाममा चैत ८ गतेदेखि १६ गतेसम्म आयोजना हुन लागेको भागवत् पुराणको तयारी तीव्र पारिएको छ ।

पुराणमा पण्डितं शान्तिराम नेपालको प्रमुख वाचन र पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्व रहने पुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए । पुराण सञ्चालनका लागि विभिन्न १४ वटा समिति गठन गरिएको छ ।

पुराणको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने पुराण प्रचार-प्रसार समितिका संयोजक यामनाथ बरालले जानकारी दिए । त्यस्तै झापा क्षेत्र नं. १ का सांसद विश्वप्रकाश शर्माको समेत उपस्थिती रहने उनले बताए ।

पुराणमा दानका लागि कसैलाई आग्रह नगरिने स्वेच्छिक दानमात्र संकलन गरिने अध्यक्ष गिरीले बताए ।

उक्त पुराणमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत गरी करिब ४० हजार जनाभन्दा बढी भक्तजन आउने अपेक्षा राखिएको छ ।

यस्तो छ पुराण आयोजनाको उद्देश्य

पुराणको विशुद्ध उद्देश्य धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नु र पाथीभरा देवीको महिमाको प्रचार गर्नु र त्यसको आधारमा पाउ पाथीभरा धामलाई प्रमुख धार्मिक गन्तव्य बनाई यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमाप्रचार गर्ने रहेको छ ।

धार्मिक आस्थाका देवी पाथीभरा माताको दर्शन गर्न जाने अधिकांश धर्मानुरागी महानुभावहरु पाउ पाथीभरामा दर्शन गरेर मात्र जाने परम्परा, आस्था र विश्वास वृद्धि भएकाले देश विदेशबाट आएका त्यस्ता महानुभावहरुलाई नि:शुल्क रुपमा खाना र बासको व्यवस्था गर्न सकिएमा यसको महत्व अझ बढ्ने भन्ने हेतुले पनि यस्ता पुराणको आयोजना गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्