पाकिस्तान, ५ असोज । पाकिस्तानमा डेङ्गु ज्वरोको फैलावट लगातार बढिरहेको छ ।
यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेङ्गु सङ्क्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ ।
यस सङ्क्रमणको कारण मृत्यु भएका सबै सिन्ध प्रान्तको प्रान्तीय राजधानी अर्थात देशको सबैभन्दा ठूलो सहर कराचीमा भएको बताइएको छ । पछिल्लो २४ घण्टामा सिन्ध प्रान्तमा कुल तीन सय ५३ जना नयाँ सङ्क्रमित भएका विभागले मङ्गलबार साँझ जानकारी दिएको छ ।
सेप्टेम्बरमा बिरामीको सङ्ख्या तीन हजार ५ सय ९४ पुगेको छ । वर्षभरि कुल बिरामीको सङ्ख्या छ हजार एक ६३ पुगेको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय ८४ लाई डेङ्गु सङ्क्रमण भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ ।
यसवर्ष खैबर पख्तुनख्वा प्रान्तमा एक हजार सात सय २९ सक्रिय सङ्क्रमितको सङ्ख्या रहेका छन् । कुल सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई ६४ पुगेको बताइएको छ । यसबाहेक, पूर्वी पञ्जाब प्रान्तमा पछिल्लो २४ घण्टामा दुई सय १५ सङ्क्रमित भएका प्रान्तीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार बिहान जानकारी दिएका छन् ।