Logo

पाकिस्तानमा निर्वाचनको पूर्वसन्ध्यामा विस्फोट: १२ जनाको ज्यान गयो, २५ घाइते



पाकिस्तान, २४ माघ । दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् ।

क्वेटा शहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालय नजिकै आक्रमण भएको थियो ।

क्वेटाका एक प्रहरी अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भने, “१२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।” “प्रारम्भिक अनुसन्धानले मोटर साइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको देखिएको छ,” उनले भने ।

प्रान्तका कार्यवाहक सूचनामन्त्री जान अचकजाईले मृतकको सङ्ख्या पुष्टि गर्दै भने, “यो विस्फोटमा १२ जनाको मृत्यु भएको छ र २५ भन्दा बढी घाइते भएका छन् ।”

निर्वाचनका लागि ५० लाखभन्दा बढी सुरक्षाकर्मी बुधबारदेखि तैनाथ हुन थालेका छन् भने ९० हजारभन्दा बढी मतदान केन्द्रमा मतपत्र वितरण गरिएको छ ।

सन् २०१८ को चुनावपछि स्थापित बहुमतको सरकारका प्रधानमन्त्री इमरान खानलाई चार बर्षपछि अविश्वासको प्रस्तावमार्फत् सत्ताबाट पदच्युत गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्रीबाट हटाइएका र हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री खानको पार्टी तथा नेताहरूलाई विभिन्न अभियोग लगाउँदै निर्वाचनमा सहभागी हुनबाट रोक लगाइएको छ ।

बिहीबारको मतदानको दौडान धेरै सुरक्षा घटनाहरू पनि भएका छन् । जसमा कम्तिमा दुई उम्मेदवारहरूको गोली हानी हत्या भएकोे छ र दर्जनौंलाई देशभरि आक्रमणहरूमा निशाना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्