Logo

पाकिस्तानमा पछिल्लो २४ घण्टामा बाढीका कारण ५७ जनाको मृत्यु



पाकिस्तान, १८ भदौ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ५७ जनाको मृत्यु हुनुका साथै सात हजार ६८३ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले जनाएको छ ।

एनडीएमएले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाढीका कारण देशभर भएका विभिन्न दुर्घटनामा परी कम्तीमा १७ बालबालिका र १८ महिलाको मृत्यु भएको छ ।

यो अवधिमा देशको दक्षिणी सिन्ध प्रान्तमा ३८ जनाको मृत्यु हुनुका साथै सात हजार २०४ जना घाइते भएका छन् । बाढी र डुवानका कारण उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा १७ जनाको मृत्यु भएको छ भने अन्य क्षेत्रमा दुई जनाको मृत्यु भएको छ । बर्षाका कारण पूर्वी पञ्जाब प्रान्तमा ४७१ जना घाइते भएका छन् ।

त्यस्तै यो अवधिमा तीन लाख २० हजार ६८० घर नष्ट भएका छन् भने तीन हजार ७६६ पशुचौपाया नष्ट भएका छन् । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण गत जुन महिनाको मध्यदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार २६५ पुगेको छ भने १२ हजार ५७७ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्