Logo

पाकिस्तानमा पूर्वप्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउन प्रस्ताव



पाकिस्तान, २१ चैत (एएनआई) । पाकिस्तानमा जारी राजनीतिक सङ्कट समाधानका लागि भन्दै पाकिस्तान तेहरिक–ए-इन्साफ (पीटीआई) अध्यक्ष इमरान खानले सोमबार पूर्व मुख्यन्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुभएको पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले पुष्टि गरेका छन् ।

प्रभात अखबारका अनुसार पीटीआईको उच्चस्तरीय समितिबाट अनुमोदन भएपछि इमरान खानले यस्तो निर्णय गरेको उनले बताए । गुलजार अहमदको नामाङ्कन संविधानको धारा २२४– क (१) अन्तर्गत काम चलाउ प्रधानमन्त्रीको रूपमा नियुक्तिका लागि उपयुक्त व्यक्तिहरूको नाम प्रस्ताव गर्न राष्ट्रपति डा आरिफ अल्वीले सोमबार प्रधानमन्त्री तथा विपक्षी नेतालाई लेखेको पत्रपछि खानले उक्त प्रस्ताव गरेको बताइएको छ ।

इमरान खानविरुद्धको अविश्वासको प्रस्तावलाई राष्ट्रियसभाका उपसभामुखले खारेज गरेको एक दिनपछि प्रधानमन्त्रीबारे यस्तो निर्णय गरिएको हो । राष्ट्रपति आरिफ अल्वीले खानको सल्लाहमा राष्ट्रियसभा भङ्ग गरेका छन् ।

सन् २०१९ को डिसेम्बर २१ मा पाकिस्तानको २७औँ प्रधान न्यायाधीशका रूपमा शपथ लिएका अहमदको जन्म २ फेब्रुअरी १९५७ मा कराँचीमा भएको थियो । प्रभात अखबारका अनुसार उनले सन् २०२२ फेब्रुअरीसम्म प्रधानन्यायाधीशको रूपमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्