पाकिस्तान, १६ माघ । पाकिस्तानको पेशावर सहरमा एक मस्जिदमा बम विस्फोटमा परेर मृत्यु हुनेको सङ्ख्या ३२ जना पुगेको छ ।
विस्फोटमा एक सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।
स्थानीय समयअनुसार सोमवार दिउँसो साढे १ बजेतिर मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको विस्फोट भएको हो । ज्यान गुमाउनेमा केही प्रहरीसमेत रहेका छन् ।
विस्फोटका कारण भवनको एउटा भाग ध्वस्त भएको र मानिसहरू भग्नावशेषमा पुरिएका अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको छ ।
पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताएका छन् । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।







