पाकिस्तान, १६ भदौ । पाकिस्तानमा हालै आएको बाढीका कारण ३० लाखभन्दा बढी बालबालिकालाई मानवीय सहायताको पर्खाइमा रहेका छन् ।
बाढी प्रभावित बालबालिकाहरू पानीजन्य रोगहरू र कुपोषणको बढ्दो जोखिममा समेत रहेको युनिसेफले जनाएको छ ।
संयुक्त राष्ट्रसंघ बालकोषद्वारा जारी विज्ञप्तिमा प्रभावित क्षेत्रहरूमा बालबालिका र परिवारहरूको अत्यावश्यक आवश्यकताहरूलाई सम्बोधन गर्न सरकारी तथा गैर-सरकारी संस्थाहरूसँग काम गरिरहेको जनाएको छ ।
तीन करोड मानिसहरूमध्ये लगभग एक करोड ६० लाख बालबालिकाहरू यस वर्षको बाढीबाट प्रत्यक्ष-परोक्षरूपमा प्रभावित भएको बताइएको छ । बाढीमा ३५० भन्दा बढी बालबालिका र ११०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् भने १६०० भन्दा बढी घाइते भएका छन् ।