काठमाडौँ, २४ चैत । पाकिस्तानको संसद् विघटनविरुद्धको प्रारम्भिक आदेश बिहीवार आउने भएको छ ।
मुद्दामा चार दिनसम्म बहस भएको र यसको प्रारम्भिक आदेश आज बेलुका साढे ७ बजे आउने सर्वोच्च अदालतलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
प्रारम्भिक आदेश आउने भएपछि सर्वोच्च अदालतबाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ । पाकिस्तानको सर्वोच्च अदालतका मुख्य न्यायाधीश उमर अता बन्दियालले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव रोक्नु उपसभामुखको गल्ती भएको बताएका छन् ।
संसद् विघटनविरुद्ध विपक्षी दलले दर्ता गरेको मुद्दाको बहसका क्रममा वकिलहरूलाई जवाफ दिने क्रममा मुख्य न्यायाधीश बन्दियालले संसदमा पुगेको अविश्वासको प्रस्ताव उपसभामुखले खारेज गर्न नमिल्ने बताएको पाकिस्तानी सञ्चारमाध्यम द डनले जनाएको छ ।