Logo

पाथिभरा केबलकारले धार्मिक आस्था खल्बलाउने नभइ पहिचानको प्रवर्द्धन गर्छ : चन्द्र ढकाल



काठमणडौ, २६ माघ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गर्नुभएको छ । पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.को तर्फबाट काठमाण्डौमा पत्रकार सम्मलेन गर्दै उहाँले यस अघि तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताउनुभयो ।

ताप्लेजुङभन्दा बाहिरका र विदेशमा बस्नेहरुले त्यहाँको विकासको विरोध गरिरहेका ढकालको भनाइ छ । ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुने कुरा महत्वपूर्ण रहेको ढकालले बताउनुभयो ।

ताप्लेजुङवासीलाई रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको भन्दै उहाँले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा सहयोग पुग्ने दाबी गर्नुभयो । उहाँले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले पाथीभरमा केबलकारसम्बन्धी संरचना गलत हिसाबले नबनाइएको पनि दाबी गर्नुभएको छ । सबै संरचना प्रकृतिमैत्री हुने दाबी गर्दै उहाँले पाँचतारे होटल नभएर सामान्य स्तरको पूर्वाधार मात्रै बनाउन लागेको बताउनुभयो । मन्दिरको भेटी केबलकारले उठाउँछ भन्ने गलत कुराको प्रचार गरिएको भन्दै उहाँले भेटीसँग केबलकारको कुनै सरोकार नरहेको जिकिर गर्नुभयो ।

केबलकारले कुन पनि हिसाबमा धार्मिक आस्था खल्बल्याउने काम नगर्ने बताउनुभयो । अध्यक्ष ढकालले सांस्कृतिक सम्पदाको संरक्षण र जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनका लागि केबलकार बनाउन लागेको बताउनुभयो । पाथीभरा केबलकारको लागत अनुमान झन्डै तीन अर्ब रुपैयाँको रहेको भन्दै उहाँले एक वर्षभित्रमा पाथीभरा केबलकार निर्माण गरी मन्दिरको दर्शन गराइने बताउनुभयो ।

पाथिभरामा केबलकार बनाउने कामको विरोध गर्दै स्थानीय लिम्बु समुदायले अबरोध गरेपछि पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.ले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्