काठमाण्डाै, २१ माघ । ताप्लेजुङकाे पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक हप्तादेखिको यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ ।
माघ १२ गते ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो । आन्दोलनरत पक्षले केबलकार निर्माणको काम तत्काल रोक्नुपर्नेसहित गिरफ्तार गरिएका प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई रिहा गर्नुपर्ने, काफ्लेपाटीमा रहेको सशस्त्र र नेपाल प्रहरीको टोली फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बन्द खुलाउन वार्ता र संवाद भइरहेको छ । प्रदेश र सङ्घीय सरकारमार्फत पनि वार्ता र समन्वय हुने र जिल्लाबाट पनि समन्वय भइरहेको उहाँको भनाइ छ । शर्माले ताप्लेजुङमा शान्ति सुरक्षा प्रवाह, अलपत्र परेका यात्रुको उद्धारलगायत काम गरिरहेको र आज पनि जिल्ला भित्रिएका केही तीर्थयात्रीलाई सुरक्षा दिएको बताउनुभयो ।
यसैबीच सङ्घीय सरकारले पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाई समेत आन्दोलनका कार्यक्रम फिर्ता लिई संवादमार्फत समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपील गरेको सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
फुङलिङ नगरपालिका–१० काफ्लेपाटीबाट मन्दिर छेउसम्म २ दशमलव ७ किलोमिटर लामो केबलकार निर्माण भइरहेको छ । आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले केबलकारको काम रोक्न माग गर्दै आएका छन् ।