Logo

पाथीभरामा केवलकार विवादको असर तीर्थयात्री र भेटीमा



ताप्लेजुङ, २ चैत्र । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विषयमा देखिएको विवादले दर्शनका लागि जाने तीर्थालुको संख्यामा कमी आएको छ । अहिले सिजनमा पनि तीर्थालु नआएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

केवलकार विवादको प्रत्यक्ष असर पाथीभरामा आउने तिर्थयात्री र मन्दिरमा संकलन हुने भेटीमा परेको छ । गतवर्षको फागुनको तुलनामा यो वर्ष तीर्थयात्रीको संख्ख्या आधा बढीले घटेको समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार गत फागुनमा ७ हजार चार सय २८ जना मात्र तीर्थयात्री पाथीभरा दर्शनका लागि आएका छन् । गत वर्षको फागुनमा १७ हजार नौ सय १२ जनाले पाथीभरा दर्शन गरेको समितिले जनाएको छ । यो वर्ष तीर्थयात्रीको संख्या १० हजार ४ सय ८८ ले घटेको उहाँको भनाई छ ।

समितिका अध्यक्ष रक्की थेवेका अनुसार गत फागुनमा १३ लाख तीन हजार रुपैयाँ मात्रै भेटी सङकलन भएको छ । गतवर्षको फागुनमा ५५ लाख ७० हजार ८ सय रुपैयाँ भेटी संकलन भएको उहाँले जानकारी दिनुभयो । गत वर्षको फागुन महिनाको तुलनामा यसवर्ष ४२ लाख ३७ हजार ३ सय ८० रुपैयाँले कमी भएको निर्देशक हाङबाङले बताउनुभयो ।

केवलकार विवादमा भएको झडप, बन्दको त्रास लगायत कारण तीर्थयात्रीको संख्यामा कमी आएको हुनसक्ने पाथीभरा क्षेत्रका होटल व्यवसायी बताउँछन् । माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्र नारायण भट्टराईले विगतका वर्षमा सिजनमा एकैदिन एक हजार बढी दर्शनार्थी आउने गरेकोमा अहिले घटेको बताउनुभयो ।

अहिले एक हजार सङ्ख्या पुग्न पनि हम्मेपर्ने गरेको उहाँको भनाई छ । ‘गत वर्षहरु जस्तो भए चैत महिनाको शुक्रबार मेरो होटलमा बस्नेको सङ्ख्या पाँच÷सात सय हुनुपर्ने हो,’ भट्टराईले भन्नुभयो, ‘अहिले जम्मा ३६ जना मात्रै छन् ।’

यही महिनाको ५ देखि १० गतेसम्म अन्ध शुक्र भएकाले तीर्थयात्री अझै घट्ने संघका अध्यक्ष भट्टराईले बताउनुभयो । फागुनदेखि बैशाखसम्म पाथीभरामा अधिक तीर्थयात्री आउने समय हो ।

योबेला एकैदिन १७ हजारसम्म तीर्थयात्री आउने गरेको संघका अध्यक्ष भट्टराईले बताउनुभयो । समितिले माथिल्लो फेदीमा तीर्थयात्रीको गणक राखेको छ । पाथीभरामा चढाएको भेटी संकलन गर्ने, सदरमुकाम ल्याएर गणना गर्ने र बैंकमा जम्मा गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्