Logo

पाथीभरामा प्रहरी र प्रदर्शनकारीबीच झडप



ताप्लेजुङ, ८ फागुन । ताप्लेजुङको पाथिभरामा नो केबलबार पक्ष र प्रहरीबीच झडप भएको छ ।

केवलकारको विरोधमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा पुगेको टोली र प्रहरीबीच झडप भएको हो । झडपमा परेर ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीले निमार्णस्थलमा छिरेर ढुंगामुढा गरेपछि झडप भएको हो ।

नो केबुलकार समूहले पूर्वघोषित कार्यक्रमअनुसार बिहीबार पाथीभरा क्षेत्रमा पदयात्रासँगै केबुलकारविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा आन्दोलनरत पक्ष केबुलकार निर्माणस्थलतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो। आन्दोलनरत पक्षको प्रदर्शनलाई नियन्त्रण्मा लिन प्रहरीले सात राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो।

नो केबुलकार समूहको प्रदर्शन असमान्य हुने स्थिति बनेपछि अश्रुग्यास प्रहार गर्नुपरेको प्रमुख नेत्रप्रसाद शर्माको भनाइ छ। आन्दोलनरत पक्षले केबुलकारविरुद्ध चर्को नाराबाजीसहित प्रदर्शन गर्दै निर्माणस्थलमै कोणसभा गरेका छन्।

यता झडपमा परी घाइते भएकाहरुलाई एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।

यस्तै पदयात्रा सुरु गर्नुपूर्व पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा आयोजित कोणसभालाई पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले सम्बोधन गर्नुभएको थियो। कोणसभालाई सम्बोधन गर्दै उहाँहरुले केबुलकार निर्माण गर्न नहुने भनाइ राख्नुभयो।

यता पदयात्रामा सहभागी हुन जसपा नेपालका नेता तथा पूर्वमन्त्री रकम चेम्जोङ, पूर्वमन्त्री गोपाल किराँतीलगायतका नेता सहभागी बन्नुभएको छ। केबुलकारको विरोध गर्दै आएको नो केबुलकार पक्षले मङ्गलबारदेखि बिहीबार तीन दिनसम्म घोषित कार्यक्रमअनुसार पाथीभरा क्षेत्रमा केबुलकारविरुद्ध पदयात्रा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्