झापा, ५ माघ । झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित पाथीभरा एकेडेमीको भौतिक र प्रशासनिक अवस्थाबारे गम्भीर चिन्ता सार्वजनिक भएको छ। विद्यालयका सञ्चालक तथा ५० प्रतिशत सेयरधनी दाबी गर्ने रवि पोद्दारले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै विद्यालय सञ्चालन हालको अवस्थामा सुरक्षित नरहेको बताएका हुन्।
पोद्दारका अनुसार विद्यालय सञ्चालन भइरहेको भवन अत्यन्त जिर्ण भइसकेको छ, जसले कुनै पनि बेला दुर्घटनाको जोखिम निम्त्याउन सक्छ। उनले यस्तो अवस्थामा विद्यालय चलाइरहनु बालबालिकाको जीवन र भविष्यसँग खेलवाड हुने भन्दै सम्भावित घटनाको जिम्मेवारी आफू एक्लैले नलिने चेतावनी दिएका छन्।
उनले विद्यालय स्थापना २०६४ सालमा भएको र २०७५ सालमा आफू र विनोद पोखरेलले खरिद गरी नयाँ व्यवस्थापनमा सञ्चालनमा ल्याएको जानकारी दिए। तर पछिल्लो समय सञ्चालकबीचको आन्तरिक विवादका कारण शैक्षिक, प्रशासनिक र भौतिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको उनको आरोप छ। संवाद र लिखित आग्रहका बाबजुद समस्या समाधानतर्फ कुनै सकारात्मक पहल नभएको पनि उनले बताए।
पोद्दारले पछिल्ला वर्षहरूमा नियमित लेखापरीक्षण नभएको, कम्पनी अद्यावधिक नगरिएको र व्यवस्थापन समितिका बैठकहरू नबस्ने गरेको दाबी गरेका छन्। यी कमजोरीले विद्यालयको कानुनी र वित्तीय अवस्थालाई जोखिमपूर्ण बनाएको भन्दै उनले नयाँ भर्ना खुला राखिनु बालबालिकाको भविष्यप्रति गैरजिम्मेवार कदम भएको टिप्पणी गरे।
उनले विद्यालयको अवस्थाबारे कनकाई नगरपालिका, शिक्षा शाखा, वडा कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईलाई पटक–पटक जानकारी गराए पनि प्रभावकारी सुनुवाइ नभएको बताए। सरोकारवाला निकायसमक्ष उनले भवनको प्राविधिक परीक्षण, विद्यालय सञ्चालन योग्यताबारे स्पष्ट निर्णय, वित्तीय तथा कानुनी हैसियतबारे निर्देशन र आवश्यक परे वैकल्पिक शैक्षिक व्यवस्था लागू गर्न माग गरेका छन्।
अन्त्यमा उनले अभिभावक, विद्यार्थी र नागरिक समाजलाई बालबालिकाको शिक्षा र सुरक्षा सुनिश्चित गर्न तत्काल रचनात्मक पहल गर्न आग्रह गरेका छन्।







