ताप्लेजुङ, २३ पुस । विज्ञापन केन्द्र जस्तै बनेको पाथीभरा क्षेत्रका होर्डिङ बोर्ड हटाइने भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले १५ दिन भित्र राख्नेले आफैं हटाउन निर्देशन गरेको छ । नहटाए प्रक्रियाअनुरुप हुने सार्वजनिक सूचनामा उल्लेख छ ।
काफ्ले पाटीदेखि मन्दिरसम्मका रुखहरुमा जथाभावी काँटी लगायतका फलामे वस्तु ठोकेर र अन्य माध्यमबाट बोर्डहरू राखिएका छन् । यो क्षेत्रका सडक आसपासका हरेकजसो रुखमा बोर्ड रहेका छन् । बोर्ड राख्नेमा सरकारी, गैरसरकारी निकायदेखि व्यवसायी र व्यक्तिसम्मका छन् ।
माघ ७ गते भित्र आफैं नहटाए प्रक्रियाअनुरुप अगाडि बड्ने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताए । प्रक्रिया अन्तर्गत कानुनी र व्यवहारिक दुवै हुन सक्ने उनले जनाएका छन् ।






