Logo

पार्टीकाे आधिकारिक उम्मेदवारलाई सघाउने बागीलाई कारबाही गर्दैनाैँ: कांग्रेस



काठमाडौँ, १८ वैशाख । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ ।

आइतवार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिने व्यक्ति पार्टी विधानअनुसार स्वतःपार्टीबाट निष्कासित हुने भए पनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवार निष्कासित नहुने बताएका हुन् । उनले पार्टी र गठबन्धनको निर्णयअनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउन पनि बागी उम्मेदवारलाई आग्रह गरेका छन् ।

प्रवक्ता महतले स्थानीय तह निर्वाचनका तालमेल सफल भएको दाबी पनि गरेका छन् । उनले कतिपय ठाउँमा स्थानीय अवस्थाअनुसार तालमेलमा असन्तुष्टि देखिए पनि आमरूपमा हेर्दा गठबन्धन सफल भएको बताएका हुन् ।

उनले भने, ‘हाम्रा पार्टीका साथीहरूले अत्यन्त अनुशासनका साथ जिम्मेवारीपूर्ण तरिकाबाट उम्मेदवारी दर्ता गर्नु भएको छ । जहाँ हामीले तालमेल गर्‍यौँ, ती ठाउँमा धेरैजसो साथीले पार्टीको निर्णयलाई स्वीकार गरेर पार्टीको वृहत्तर हितमा काम गर्नुभएको छ । अपवाद ठाउँमा बाहेक सबैले पार्टीको निर्णयलाई स्वीकार गर्नुभएको छ । जहाँ विद्रोही उम्मेदवारहरू हुनुहुन्छ, ती साथीहरू आधिकारिक पार्टीले, गठबन्धनले तय गरेको उम्मेदवारको पक्षमा आउनुहुनेछ भन्ने हामीलाई विश्वास लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्