काठमाडौँ, ११ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीले अवलम्बन गरेका नीति तथा आदर्शलाई जनताकाबीच लैजाने ‘समाजवाद जागरण अभियान’ महत्त्वपूर्ण हुने बताएका छन् ।
पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु गर्ने उक्त अभियानमा पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण देशव्यापीरूपमा प्रचार-प्रसार गरिने बताएका हुन् ।
समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तरक्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिने बताउँदै उनले पार्टीका वैचारिक दृष्टिकोणलाई आधारभूत तहसम्म स्थापित गर्न यात्राले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सामाजिक न्याय, समानता, आत्मनिर्भर अर्थतन्त्रको विशेषता भएको वैज्ञानिक समाजवाद कार्यान्वयन गरी मुलुकमा समृद्धि कायम गर्न सकिने विश्वास व्यक्त गरेका हुन् ।







