Logo

पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : अध्यक्ष नेपाल



काठमाडौँ, ४ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि)मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् ।

केन्द्रीय कार्यसमितिमा थप २१ जना सदस्यको पार्टी कार्यालयमा आज आयोजित शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले अपानिमा भएका मतभेद तथा केही प्रश्न आएको भन्दै पार्टीभित्रैबाट समस्या हल गरिने बताएका हुन् ।

पार्टीभित्रको विषय सडकमा लाने काम पार्टीको अनुशासन बुझेको जिम्मेवार नेता तथा कार्यकर्ताले गर्न नहुनेमा जोड दिँदै उनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाउँदा केही अग्रज नेता छुटेकाले उनीहरूलाई अन्य जिम्मेवारी प्रदान गरिने बताए । उनले केही असन्तुष्ट नेताहरूले कार्यविभाजन सच्याउन माग गरेकाले सक्षमता र योगदानका आधारमा उनीहरूको जिम्मेवारी हेरफेर हुन सक्ने बताएका छन्  ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै राम्रो काम गरेर जनताको विश्वास जित्नुपर्ने विचार व्यक्त गरे । उनले अहिले शिक्षकहरूको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने र वार्ता तथा छलफलबाट निकास निकाल्नुपर्ने उल्लेख गरेका थिए ।

पार्टीले विभिन्न प्रदेश, जिल्ला, क्षेत्रको सन्तुलित प्रतिनिधित्व गराउन नयाँ सदस्य थप गरी केन्द्रीय समिति विस्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्